माधुरी दीक्षितले ५९औँ जन्मदिन मनाउँदै, प्याथोलोजिस्ट बन्ने सपना देखि बलिउड स्टारसम्मको यात्रा

बलिउड अभिनेत्री माधुरी दीक्षितले १५ मे २०२६ मा आफ्नो ५९औँ जन्मदिन मनाइरहेकी छन्। विज्ञानकी विद्यार्थी रहेकी माधुरीले प्याथोलोजिस्ट बन्ने सपना देखेकी थिइन्, तर पछि अभिनय क्षेत्रमा प्रवेश गर्दै भारतीय सिनेमाकी चर्चित अभिनेत्रीमध्ये एक बनिन्।

माधुरी दीक्षित १५ मे २०२६ मा आफ्नो ५९औँ जन्मदिन मनाइरहेकी छन्। अभिनय, नृत्य र मुस्कानका कारण बलिउडकी प्रतिष्ठित अभिनेत्रीका रूपमा परिचित माधुरीको फिल्मी यात्रा जति चर्चित रह्यो, उनको प्रारम्भिक जीवन र करियरको मोड पनि त्यत्तिकै रोचक मानिन्छ।

भारतीय सिनेमामा उनलाई ‘डान्सिङ क्वीन’ र ‘धक-धक गर्ल’ का नामले चिनिन्छ। तर एक समय यस्तो पनि थियो, जब उनको लक्ष्य अभिनय नभई मेडिकल क्षेत्रमा करियर बनाउने थियो।

माधुरी दीक्षितको जन्म १५ मे १९६७ मा मुम्बईमा भएको थियो। बाल्यकालदेखि नै उनी पढाइमा अब्बल थिइन् र नृत्यप्रति उनको विशेष रुचि थियो। उनले तीन वर्षको उमेरदेखि नृत्य सिक्न सुरु गरेकी थिइन्। आठ वर्षको उमेरसम्म उनले कथकको औपचारिक प्रशिक्षण लिइन् र नौ वर्षको उमेरमा कथक नर्तकीका रूपमा छात्रवृत्ति समेत प्राप्त गरेकी थिइन्। एक स्टेज प्रस्तुति पछि उनको नाम पहिलो पटक अखबारमा प्रकाशित भएको थियो, जसले उनको प्रतिभालाई प्रारम्भिक पहिचान दिलाएको थियो।

सुरुआती समयमा माधुरी अभिनेत्री बन्न चाहँदैनथिन्। उनी विज्ञान विषयकी विद्यार्थी थिइन् र विज्ञानमै स्नातक अध्ययन गरेकी थिइन्। उनको लक्ष्य प्याथोलोजिस्ट बन्ने थियो। मेडिकल साइन्सप्रति गहिरो रुचिका कारण उनी अभिनय क्षेत्रबाट टाढा रहन चाहन्थिन्। तर पछि उनको करियर फिल्म उद्योगतर्फ मोडियो।

माधुरीले पहिलो पटक फिल्म ‘अबोध’ मा काम गर्ने अवसर पाएकी थिइन्। यो फिल्म बक्स अफिसमा सफल नभए पनि यसले उनलाई फिल्म उद्योगमा प्रवेशको बाटो खोलिदियो। त्यसपछि ‘तेजाब’ र ‘राम लखन’ जस्ता फिल्ममार्फत उनले तीव्र रूपमा लोकप्रियता हासिल गरिन्।

सन् १९९२ मा आएको फिल्म ‘बेटा’ को गीत ‘धक-धक करने लगा’ माधुरीको करियरको महत्वपूर्ण मोड बनेको थियो। उक्त गीतमा उनको अभिव्यक्ति, नृत्य र स्क्रिन उपस्थितिले उनलाई व्यापक चर्चा दिलायो। यही गीतपछि उनलाई ‘धक-धक गर्ल’ को उपनामले चिनिन थालियो। यसअघि सन् १९८८ मा फिल्म ‘तेजाब’ को गीत ‘एक दो तीन’ ले पनि उनलाई पहिचान दिलाएको थियो।

९० को दशकमा माधुरी बलिउडकी प्रमुख अभिनेत्रीमध्ये एक बनिन्। उनले ‘परिंदा’, ‘दिल’, ‘खलनायक’, ‘हम आपके हैं कौन..!’, ‘दिल तो पागल है’, ‘पुकार’, ‘लज्जा’ र ‘देवदास’ जस्ता फिल्ममा अभिनय गरेकी छन्।

वर्क फ्रन्टको कुरा गर्दा, माधुरी दीक्षित हाल आफ्नो नयाँ फिल्म ‘मां बहन’ का कारण चर्चामा छिन्। यो फिल्म डार्क कमेडी ड्रामाका रूपमा बताइएको छ।

Leave a comment