नासाले अन्तरिक्ष अनुसन्धानमा एउटा नया इतिहास रचि पहिलो पटक चन्द्रमामा GPS सिग्नल प्राप्त गरी ट्र्याकिङ गरेको छ। यो सफलता मार्च ३ मा प्राप्त भएको हो।
वासिङ्टन: नासाले अन्तरिक्ष अनुसन्धानमा एउटा नयाँ इतिहास रचि पहिलो पटक चन्द्रमामा GPS सिग्नल प्राप्त गरी ट्र्याकिङ गरेको छ। यो सफलता मार्च ३ मा प्राप्त भयो जब लुनर जीएनएसएस रिसीभर एक्सपेरिमेन्ट (LuGRE) ले चन्द्रमाको सतहमा ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम (GNSS) सिग्नल सफलतापूर्वक पत्ता लगायो। यो ऐतिहासिक काम नासा र इटालियन अन्तरिक्ष संस्था (ASI) ले संयुक्त रूपमा हासिल गरेका हुन्।
यो प्रणाली कसरी काम गर्छ?
GNSS सिग्नल सामान्यतया पृथ्वीको सतहमा नेभिगेसन, स्थान र समयको लागि प्रयोग गरिन्छ। अब, नासाले यी सिग्नलहरूलाई चन्द्रमामा ट्र्याक गरेर भविष्यमा अन्तरिक्ष यात्रीहरूले पनि चन्द्रमामा GPS जस्ता सुविधाको लाभ उठाउन सक्ने कुरा प्रमाणित गरेको छ। यस प्रविधिको मद्दतले आर्टेमिस मिसनका अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको सतहमा आफ्नो स्थान, गति र समयको सही डेटा प्राप्त गर्न सक्नेछन्।
LuGRE चन्द्रमामा कसरी पुग्यो?
LuGRE फायरफ्लाय एरोस्पेसको ब्लु घोस्ट चन्द्र ल्यान्डरद्वारा चन्द्रमामा पुर्याइएको थियो, जसले मार्च २ मा सफल ल्यान्डिङ गरेको थियो। यसले LuGRE सहित नासाका १० वटा महत्त्वपूर्ण उपकरणहरू बोकेको थियो। ल्यान्डिङ भए लगत्तै, नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टर (मेरिल्यान्ड) का वैज्ञानिकहरूले यो पेलोड सक्रिय गरे र यसको पहिलो वैज्ञानिक प्रयोग सुरु गरे।
चन्द्रमाबाट प्राप्त GPS डेटा
LuGRE ले पृथ्वीबाट लगभग २.२५ लाख माइल टाढा आफ्नो पहिलो GNSS सिग्नल पत्ता लगाएर एउटा ऐतिहासिक काम गरेको छ। यो रिसीभर अर्को १४ दिनसम्म निरन्तर चन्द्रमामा GPS डेटा ट्र्याक गर्नेछ, जसबाट यस प्रविधिको उपयोगिता जाँच गर्न सकिनेछ। यस परीक्षणको सफलताले भविष्यमा चन्द्रमामा मानवीय गतिविधिहरूलाई थप सुरक्षित र सहज बनाउने दिशामा एउटा ठूलो कदम चालिएको छ।
अब अन्तरिक्ष यात्रीहरूले अतिरिक्त ग्राउन्ड सपोर्ट बिना आफ्नो स्थान पहिचान गर्न सक्नेछन्, जसले चन्द्रमा मिसनको सफलता दर बढाउनेछ। साथै, यो पहिलो इटालियन अन्तरिक्ष हार्डवेयर हो जसले चन्द्रमामा सफलतापूर्वक काम गरेको छ, जुन इटालियन अन्तरिक्ष संस्थाको लागि पनि एउटा ठूलो उपलब्धि हो।