OpenAI ले ChatGPT का लागि GPT-Live-1 र GPT-Live-1 mini भ्वाइस मोडेल सार्वजनिक गरेको छ। नयाँ मोडेलहरू रियल-टाइम संवाद, छिटो प्रतिक्रिया र बढी प्राकृतिक भ्वाइस अन्तरक्रियाको अनुभव उपलब्ध गराउने उद्देश्यले तयार गरिएका छन्।
OpenAI का अनुसार, GPT-Live-1 र GPT-Live-1 mini ले पुरानो Advanced Voice Mode को स्थान लिनेछन् र प्रयोगकर्तालाई छिटो, स्मार्ट तथा रियल-टाइम भ्वाइस अन्तरक्रिया उपलब्ध गराउनेछन्। कम्पनीले नयाँ मोडेलहरूले ChatGPT मा पहिलेभन्दा बढी प्राकृतिक र अवरोधरहित संवादको अनुभव दिने जनाएको छ।
GPT-Live मा Full-Duplex Architecture प्रयोग गरिएको छ। पुरानो भ्वाइस प्रणालीमा एआईले प्रयोगकर्ताले बोल्न समाप्त गरेपछि मात्र प्रतिक्रिया दिन्थ्यो, तर GPT-Live ले सुन्ने र जवाफ दिने काम एकैसाथ गर्न सक्छ। यसले संवादको प्रवाहलाई बढी स्वाभाविक बनाउने कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार, मोडेलले प्रत्येक सेकेन्डमा धेरै पटक उसले जवाफ दिने, सुन्न जारी राख्ने, बीचमै प्रतिक्रिया दिने वा अर्को टुलको सहायता लिने भन्ने निर्णय गर्छ। संवादका क्रममा यसले “mhmm”, “yeah” र “got it” जस्ता छोटा प्रतिक्रिया पनि दिन सक्छ, जसले अनुभवलाई मानव संवादको नजिक पुर्याउँछ।
कुनै प्रश्नका लागि सर्च, अनुवाद, अनुसन्धान वा जटिल रिजनिङ आवश्यक परेमा GPT-Live ले पृष्ठभूमिमा GPT-5.5 को सहायता लिएर काम पूरा गर्दै प्रयोगकर्तासँग संवाद जारी राख्छ।
OpenAI ले GPT-Live-1 र GPT-Live-1 mini ले मानव मूल्यांकन र प्राविधिक परीक्षणमा पुरानो Advanced Voice Mode भन्दा राम्रो प्रदर्शन गरेको जनाएको छ। ५ देखि १० मिनेटको संवादका क्रममा प्रयोगकर्ताहरूले नयाँ मोडेललाई बढी रुचाएका थिए। कम्पनीका रिसर्च लिडले GPT-Live-1 लाई हालसम्मकै सबैभन्दा स्मार्ट भ्वाइस मोडेल बताएका छन्।
सुरक्षाका लागि कम्पनीले नयाँ सेफगार्डहरू समावेश गरेको जनाएको छ। मोडेललाई सेल्फ-हार्म, हिंसा, मानसिक स्वास्थ्य र संवेदनशील विषयसँग सम्बन्धित अवस्थाहरूमा सुरक्षित प्रतिक्रिया दिन डिजाइन गरिएको छ। किशोर प्रयोगकर्ताका लागि उमेरअनुसार सुरक्षा र parental controls पनि समावेश गरिएका छन्। GPT-Live ले कुनै वास्तविक व्यक्तिको आवाजको नक्कल गर्दैन र केवल पूर्वनिर्धारित भ्वाइस प्रोफाइल प्रयोग गर्छ।
OpenAI ले GPT-Live लाई iOS, Android र Web मा सबै ChatGPT प्रयोगकर्ताका लागि रोलआउट गरिरहेको पुष्टि गरेको छ। Go, Plus र Pro सब्सक्राइबरलाई पूर्वनिर्धारित रूपमा GPT-Live-1 उपलब्ध हुनेछ भने Free प्रयोगकर्ताका लागि GPT-Live-1 mini उपलब्ध हुनेछ। कम्पनीले यसलाई आगामी समयमा API मार्फत डेभलपर र इन्टरप्राइज ग्राहकका लागि पनि उपलब्ध गराउने जनाएको छ।






