UFBU ले 27 जनवरी 2026 मा अखिल भारतीय बैंक हडतालको घोषणा

UFBU ले 27 जनवरी 2026 मा अखिल भारतीय बैंक हडतालको घोषणा

भारतका बैंकिङ सेवासँग सम्बन्धित करोडौँ ग्राहकका लागि जनवरी 2026 को अन्तिम साता चुनौतीपूर्ण हुन सक्ने देखिएको छ। युनाइटेड फोरम अफ बैंक युनियन्स (UFBU) ले 27 जनवरी 2026 मा अखिल भारतीय बैंक हडतालको घोषणा गरेको छ।

केन्द्रीय श्रम आयुक्तसमक्ष इन्डियन बैंक्स एसोसिएसन (IBA), वित्त मन्त्रालय र युनाइटेड फोरम अफ बैंक युनियन्स (UFBU) बीच 22 र 23 जनवरीमा भएको लामो वार्ता सहमतिविहीन रूपमा टुंगिएको थियो। पाँचदिने बैंकिङ कार्यसप्ताहको प्रमुख मागमा सहमति नजुटेपछि UFBU ले 27 जनवरी 2026 मा अखिल भारतीय बैंक हडतालको घोषणा गरेको हो। यस हडतालमा सार्वजनिक, निजी, विदेशी, क्षेत्रीय ग्रामीण र सहकारी बैंकमा कार्यरत करिब आठ लाख बैंक अधिकारी तथा कर्मचारी सहभागी हुने बताइएको छ।

यो हडताल लामो समयदेखि पेन्डिङ रहेको पाँचदिने बैंकिङ कार्यसप्ताहको मागसँग सम्बन्धित छ। केन्द्रीय श्रम आयुक्तसमक्ष 22 र 23 जनवरीमा IBA, वित्त मन्त्रालय र UFBU बीच भएको वार्ता कुनै निष्कर्षमा पुग्न सकेन। सरकारतर्फबाट सहमति नआएपछि युनियनहरूले हडतालको बाटो रोजेका हुन्।

UFBU का अनुसार 7 डिसेम्बर 2023 को समझदारी ज्ञापन र 8 मार्च 2024 को संयुक्त नोटमा सोमबारदेखि शुक्रबारसम्म प्रतिदिन 40 मिनेट कार्यसमय बढाएर सबै शनिबार सार्वजनिक बिदा दिने सहमति भएको थियो। तर उक्त प्रस्तावलाई अहिलेसम्म सरकारको स्वीकृति प्राप्त भएको छैन।

यस अखिल भारतीय हडतालमा सार्वजनिक क्षेत्रका बैंक, निजी बैंक, विदेशी बैंक, क्षेत्रीय ग्रामीण बैंक (RRB) र सहकारी बैंक सहभागी हुनेछन्। करिब 8 लाख बैंक अधिकारी तथा कर्मचारी हडतालमा सहभागी हुने अनुमान गरिएको छ, जसका कारण बैंकिङ सेवाहरू प्रायः पूर्ण रूपमा प्रभावित हुन सक्ने देखिएको छ।

हडताल र बिदाका कारण सर्वसाधारण र व्यापारिक गतिविधिमा असर पर्ने सम्भावना छ। नगद जम्मा तथा निकासी, चेक क्लियरेन्स, शाखा स्तरका लेनदेन, ऋण स्वीकृति तथा वितरण, र सरकारी तथा व्यावसायिक भुक्तानी सेवाहरू प्रभावित हुनेछन्।

डिजिटल बैंकिङ सेवाहरू जस्तै UPI, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ आंशिक रूपमा सञ्चालनमा रहन सक्ने भए पनि प्राविधिक वा ब्याकएन्ड समर्थन प्रभावित हुन सक्ने बताइएको छ। आल इन्डिया बैंक अफिसर्स एसोसिएसनका राष्ट्रिय सचिव डी.एन. त्रिवेदीले 2015 को 10औँ द्विपक्षीय सम्झौतापछि दोस्रो र चौथो शनिबार बिदा लागू गरिएको उल्लेख गर्दै अहिले पाँचदिने कार्यसप्ताहलाई स्वीकृति नदिनु अनुचित भएको बताएका छन्।

UFBU गोरखपुरका समन्वयक युपीएन सिंहले भारतीय रिजर्भ बैंक (RBI), एलआईसी र जनरल इन्स्योरेन्स कर्पोरेसनजस्ता धेरै वित्तीय संस्थामा पहिलेदेखि नै पाँचदिने कार्यसप्ताह लागू रहेको बताए। बैंकहरूसँग भइरहेको यस्तो भेदभावले कर्मचारीमा असन्तोष बढाइरहेको उनको भनाइ छ।

Leave a comment