इटलीको पहाडी क्षेत्र क्योटियन आल्प्समा सेप्टेम्बर 2024 देखि बेपत्ता भएका अनुभवी पर्वतारोही तथा अर्थोपेडिक सर्जन निकोला इवाल्डोको खोज कार्यमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले निर्णायक भूमिका खेलेको छ। लामो समयसम्म असफल बनेको खोज अभियान जुलाई 2025 मा ड्रोन र एआई प्रविधिको प्रयोगसँगै निर्णायक चरणमा पुगेको हो।
इवाल्डो सेप्टेम्बर 2024 मा एक्लै पहाडतर्फ प्रस्थान गरेका थिए तर उनले कुन मार्ग रोजेका थिए भन्ने जानकारी कसैलाई दिएका थिएनन्। धेरै घण्टासम्म सम्पर्क हुन नसकेपछि परिवार र सहकर्मीहरूले खोजी सुरु गरेका थिए। रेस्क्यु टोलीले उनको कार एउटा गाउँमा पार्क गरिएको अवस्थामा फेला पारेपछि उनी क्योटियन आल्प्सका दुई चर्चित शिखरमध्ये कुनै एकतर्फ गएको अनुमान गरिएको थियो।
यसपछि करिब ५० जना रेस्क्यु कर्मचारीले पैदल रूपमा दुर्गम पहाडी क्षेत्रमा खोजी सञ्चालन गरे। हेलिकप्टरमार्फत पनि पटक–पटक हवाई निरीक्षण गरिएको थियो तर कुनै ठोस सुराग फेला परेन। खोज अभियान करिब एक सातासम्म चले पनि नतिजा प्राप्त हुन सकेन।
सेप्टेम्बरको अन्त्यतिर भारी हिमपात सुरु भएपछि मौसम अवस्था झनै प्रतिकूल बनेको थियो। जोखिम बढेपछि खोज तथा उद्धार अभियान स्थगित गर्नुपरेको थियो र त्यसपछि महिनौँसम्म खोजी सम्भव हुन सकेन।
जुलाई 2025 मा हिउँ पग्लिएसँगै खोज अभियान पुनः सुरु गरियो। यस चरणमा रेस्क्यु टोलीले ड्रोन र आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयरको प्रयोग गर्यो। ड्रोनमार्फत २,६०० भन्दा बढी उच्च रिजोल्युसन तस्वीरहरू संकलन गरिएका थिए।
यी तस्वीरहरू एआई प्रणालीमा प्रविष्ट गरिएपछि केही घण्टामै प्रत्येक छविको सूक्ष्म विश्लेषण गरिएको थियो। एआईले प्राकृतिक वातावरणसँग नमेलिने वस्तुहरू पहिचान गर्ने क्रममा एउटा तस्वीरमा देखिएको रातो रंगको वस्तुलाई सुरागका रूपमा चिन्हित गर्यो। पछि उक्त वस्तु इवाल्डोको हेलमेट भएको पुष्टि भयो।
यस सुरागको आधारमा खोजलाई थप अगाडि बढाइयो र अन्ततः निकोला इवाल्डोको शव फेला पारिएको रेस्क्यु टोलीले जनाएको छ।





