पाकिस्तान सुपर लिग २०२६ को उद्घाटन २६ मार्चदेखि सुरु भएको छ। पहिलो खेलमा लाहौर कलन्दर्सले हैदराबाद किंग्समेनलाई ६९ रनले पराजित गरेको छ।
पहिलो खेलमा असामान्य घटना
पहिलो खेल हैदराबाद किंग्समेन र लाहौर कलन्दर्सबीच खेलिएको थियो। खेलका क्रममा हैदराबादले बलिङ गरिरहँदा टी२० ढाँचामा प्रयोग हुने सेतो बल अचानक गुलाबी रंगमा परिवर्तन भएको देखियो।
यस असामान्य घटनापछि हैदराबादका बलरहरूले अम्पायरसँग गुनासो गरेका थिए र घटनाबारे जाँच गरिएको थियो। जाँचका क्रममा बलमा रंग जर्सीबाट सरेको पाइएको थियो। हैदराबाद किंग्समेनको जर्सीको गुणस्तर कमजोर भएकाले खेलका क्रममा त्यसको रंग छुटेर बलमा टाँसिएको पुष्टि भएको थियो।
कप्तानको प्रतिक्रिया
खेलपछि हैदराबाद किंग्समेनका कप्तान मार्नस लाबुशेनले भने, "दोस्रो ओभरपछि मैले अम्पायरसँग सोधेँ कि के भइरहेको छ? बल अचानक रातो भयो। यस्तो मैले पहिले कहिल्यै देखेको थिइनँ। आशा गर्छु, अर्को खेलसम्म यस्ता समस्याहरू समाधान हुनेछन्।"
लाहौरको जित
पहिलो खेलमा लाहौर कलन्दर्सले शाहीन शाह अफ्रिदीको कप्तानीमा २० ओभरमा १९९ रन बनाएको थियो। टोलीका लागि फखर जमानले अर्धशतक प्रहार गरेका थिए।
जवाफमा हैदराबाद किंग्समेन २० ओभरमा १३० रनमै अलआउट भयो। यससँगै लाहौर कलन्दर्सले ६९ रनको जित दर्ता गरेको छ।











