रूखमा उल्टो झुन्डिएको बेताललाई राजा विक्रमादित्यले फेरि रूखमा चढेर तल उतारे र आफ्नो काँधमा राखेर हिँडे। बेताल मनमनै राजाको धैर्य र साहसको प्रशंसा गरिरहेको थियो। बेतालले फेरि कथा सुरु गर्यो। एक समय वाराणसीमा राजा महेन्द्रको शासन थियो। उनी राजा विक्रमादित्य जस्तै दयालु र धैर्यवान थिए। नैतिकताले भरिपूर्ण भएर पनि उनी धेरै उदास थिए। यिनै गुणहरूका कारण प्रजाले उनलाई धेरै मन पराउँथे। त्यही शहरमा धन माल्य नामका एक धेरै धनी व्यापारी बस्थे। उनी आफ्नो व्यापार र धनका लागि टाढा-टाढासम्म प्रसिद्ध थिए। धनमाल्यकी एक सुन्दर जवान छोरी थिइन्।
मानिसहरू भन्थे कि उनी यति सुन्दर थिइन् कि स्वर्गकी अप्सराहरू पनि उनीसँग ईर्ष्या गर्थिन्। उनका काला लामा कपालहरू कालो बादल जस्तै देखिन्थे, छाला दूध जस्तै सेतो थियो र स्वभाव जङ्गलको मृग जस्तै कोमल थियो। राजाले पनि उनको प्रशंसा सुने र उनलाई प्राप्त गर्ने इच्छा राजाको मनमा जागृत भयो। राजाले आफ्ना दुई विश्वासपात्र सेविकालाई बोलाएर भने, “तिमीहरू व्यापारीको घरमा गएर उसकी छोरीलाई भेट। मानिसहरूले भनेको कुराको सत्यता थाहा गर कि साँच्चै उनी रानी बन्न लायक छिन् कि छैनन्।” सेविका आफ्नो कामको लागि गइन्।
भेष बदलेर व्यापारीको घर पुगिन्। व्यापारीकी छोरीको सुन्दरता देखेर उनीहरू आश्चर्यचकित भएर, मन्त्रमुग्ध भएर उभिरहे। पहिलो सेविकाले भनी, “ओहो! कस्तो रूप छ, राजाले यसैसँग विवाह गर्नुपर्छ।” दोस्रो सेविकाले भनी, “तिमीले सही भन्यौ। यस्तो रूप मैले आजभन्दा अघि कहिल्यै देखेको थिइनँ। राजाले त यसको माथिबाट आफ्नो नजरै हटाउन सक्नुहुन्न।” केही बेर दुवैले सोचे, अनि दोस्रो सेविकाले भनी, “तिमीलाई लाग्दैन कि यदि राजाले विवाह गरे भने उनको ध्यान कामबाट हट्छ?” पहिलो सेविकाले सहमतिमा टाउको हल्लाएर भनी, “तिमीले सही भन्यौ। यदि त्यसो भयो भने राजाले आफ्नो राज्य र प्रजामा ध्यान दिन सक्दैनन्।” दुवैले राजालाई सत्य कुरा नभन्ने निर्णय गरे।
राजालाई उनीहरूमाथि धेरै विश्वास थियो। राजालाई जे भनियो, उनले त्यसैलाई सही माने। तर उनको मन दुख्यो। एक दिन धनमाल्य आफैँ छोरीको विवाहको प्रस्ताव लिएर राजाकहाँ आए तर दुःखी राजाले नसोची प्रस्ताव अस्वीकार गरे। निराश भएर धनमाल्यले छोरीको विवाह राजाका एक दरबारीसँग गरिदिए। जीवनरूपी गाडी चलिरहेको थियो। केही दिन बिते। एक दिन राजा आफ्नो रथमा सवार भएर आफ्नो दरबारीको घरतिरबाट जाँदै थिए। उनले झ्यालमा एक सुन्दर स्त्रीलाई उभिरहेको देखे। राजा उनको रूपबाट धेरै प्रभावित भए। राजाले सारथीलाई सोधे, “मैले यस्तो रूप पहिले कहिल्यै देखेको छैन। यो झ्यालमा उभिरहेकी स्त्री को हुन्?”
सारथीले भने, “महाराज, यो व्यापारी धनमाल्यकी एक्ली छोरी हुन्। मानिसहरू भन्छन् कि स्वर्गकी अप्सराहरू पनि उनको रूपबाट ईर्ष्या गर्छिन्। तपाईँकै एक दरबारीसँग उनको विवाह भएको छ।” राजा क्रोधित भएर भने, “यदि तिम्रो कुरामा सत्यता छ भने ती दुई सेविकाले मसँग झूट बोलेका छन्। तुरुन्तै उनीहरूलाई मेरो सामु बोलाऊ। म उनीहरूलाई मृत्युदण्ड दिनेछु।” दुवै सेविकालाई राजाको सामु बोलाइयो। आउनेबित्तिकै दुवै राजाको खुट्टा समातेर माफी माग्न थाले। उनीहरूले राजालाई सबै कुरा बताए। तर राजाले उनीहरूको कुरामा ध्यान नदिई तुरुन्तै उनीहरूलाई मृत्युदण्ड दिए। कथा पूरा गरेर बेतालले भन्यो, “प्रिय राजन! दुवै सेविकालाई मृत्युदण्ड दिने राजा महेन्द्रको निर्णय के तपाईँलाई सही लाग्छ?”
विक्रमादित्यले जवाफ दिए, “सेवकको कर्तव्य भनेको आफ्नो स्वामीको आज्ञा मान्नु हो। सेविका सजायको हकदार थिइन्। उनीहरूले राजालाई जे देखेका थिए त्यही बताउनुपर्थ्यो तर उनीहरूले त्यसो गरेनन्। उनीहरूको नियत खराब थिएन। उनीहरूले राजा र राज्यको भलाईको लागि नै सोचेका थिए। उनीहरूको कार्य स्वार्थरहित थियो। यस सन्दर्भमा राजाले उनीहरूलाई मृत्युदण्ड दिनु उचित थिएन।” “बहादुर राजा, तपाईँले सही उत्तर दिनुभयो।” यति भन्दै बेताल हावामा उडेर फेरि रूखमा गयो।